काठमाडौं । मिडियासँग सम्बन्धित विभिन्न कम्तिमा ३ सय ३१ कम्पनीहरुले महिनौंदेखि भ्याट नबुझाएको तथा काराेबार रकम दाखिला नै गर्न छाडेकाे पाइएको छ ।

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको सूची अनुसार भ्याट कारोबार दाखिला नगर्नेहरुको सूची हेर्दा ९६ महिनादेखि कारोबार विवरण बुझाउन बाँकी रहेको पाइएको हो ।

पुष्पराज मिडिया प्रालिले ९६ महिना र उर्जासिल न्युज मिडिया एण्ड पब्लिकेशन प्रालिले ९५ महिनादेखि भ्याट विवरण बुझाउन नै बाँकी रहेको छ । यस्तै, मिडिया कन्सल्टेन्सी नेपालले ८३ महिना, ताजा मिडिया प्रालिले ८१ महिना, विराटनगर मिडिया हाउस प्रा.लि ७५ महिना, इन्द्रेणी मिडिया प्रालिले ५८ महिनादेखि भ्याट विवरण नै बुझाएका छैनन् ।

त्यस्तै, मिथिलावाणी मिडिया प्रा.लिको ११ महिना, उज्यालो मिडियाको १३ महिना, भास्कर मिडिया नेटवर्क प्रा.लिको २० महिना, ऋषि मिडियाको २२ महिनाको भ्याट विवरण बुझाउन बाँकी छ ।

यस्तै, थ्री ब्रदर्स मिडियाकाे २० महिना, नेपाल मिडिया ३५ महिना, रिपब्लिक हेराल्ड मिडिया एण्ड पब्लिकेशन प्रा.लिको ३६ महिना, झुम्का मिडिया प्रालि २३ महिना, तरहरा मिडिया प्रालि २४ महिना, रेस मिडिया प्रालिको ४० महिनाको विवरण दाखिला बाँकी रहेको छ ।

यसैगरी, अलाइन्स मिडिया प्रा.लिको ४६ महिना, क्रियटिभ मिडियाको ५२ महिना, पूर्वाञ्चल मिडिया प्रालिको ६० महिनाको भ्याट विवरण बुझाउन बाँकी छ ।

यसैगरी भ्याट विवरण नबुझाउने मिडिया कम्पनीहरुमा ताक्लुङ मिडिया प्रा.लि ३६ महिना, तेस्रोधार मिडिया एजेन्सी ६५ महिना, भाइरल मिडिया प्रालि ४० महिना, नयाँ छाल मिडिया ४० महिना, जनमुखी र इन्फो मिडियाको प्रालि ५२ महिनाको बाँकी रहेको छ ।

यस्तै, सेती महाकाली मिडिया प्रालि ३४, खोज संग्रह मिडिया प्रालि ५३ महिना, अर्थपार्टी मिडिया प्रालि ६० महिना, सिद्धार्थ मिडिया प्रालि ४७ महिना, पूण्य लक्ष्मी मिडिया, टाइटन मिडिया र रेड फक्स मिडियाको ६० महिनाको भ्याट विवरण दाखिला गर्न बाँकी रहेको विभागले जनाएकाे छ।

यी मिडियासँग सम्बन्धित कम्पनीहरुले कतिपयले विगतमा अनलाइन मिडिया सञ्चालन गरेको र कतिपयले विज्ञापन तथा भिडियो सम्बन्धी काम गर्ने गरेको पाइएको छ । कतिपयले भने भ्याट विवरण दाखिला नै नगरी अर्को कम्पनी खडा गरेर कारोबार गर्ने गरेका छन् ।

विभागकाे सूची अनुसार यसरी भ्याट विवरण दाखिला नगर्ने मिडिया कम्पनीहरू करिब ३ सय ५० काे संख्यामा देखिएका छन् ।

भ्याट नतिर्नेको संख्या बढ्दै
भ्याट विवरण दाखिला नगर्ने र भ्याट नतिर्ने कम्पनी मिडियामा मात्रै नभएर अन्य क्षेत्रकाे अझै बढी रहेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका ४८ हजार १९७ कम्पनीले आफ्नो कारोबारको विवरण नबुझाएको पाइएको हाे ।

यी कम्पनीहरूले ६ देखि १०२ महिनासम्म भ्याटको विवरण नबुझाएको विभागले जनाएको छ। २०८१ को पुस मसान्तसम्म भ्याटमा ३ लाख ३८ हजार ३६१ कम्पनी दर्ता छन्। तीमध्ये ४८ हजार बढी कम्पनीले भ्याट रकम तिर्न छाडेका हुन्।

धेरै कम्पनीले भ्याटको विवरण दाखिला गर्न छाडेपछि विभागले सूचना नै जारी गरेको छ।

विभागले १५ दिनभित्र आफ्नो विवरण अपडेट नगरे कारबाही गर्ने चेतावनी दिएको छ। विभागले लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र दर्ता समेत निलम्बन गर्न सकिने उल्लेख गरेको छ।

भ्याट विवरण दाखिला नगर्नेहरुको विवरण

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।