काठमाडौँ, १२ चैत । फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा पुनः विवाद बल्झिएको छ ।
क्याम्पसले पत्रिकामा सुचना निकालेर आगामी मङ्गलबार स्ववियू निर्वाचन मिति घोषणा गरेपछि निर्वाचनको विषय फेरि विवादमा परेको हो ।
क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले शनिबार सूचना प्रकाशित गर्दै स्थगित भएको निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराएका छन् ।
तर, एमाले निकट अनेरास्ववियू बाहेक सबै विद्यार्थी संगठनले स्ववियू मिति घोषणाको विरोध गरेका छन् । नेविसंघ, क्रान्तिकारी लगायत नौं वटा विद्यार्थी संगठनले एकतर्फी रुपमा कुनै छलफल नै नगरी पत्रिकामा विज्ञापन निकालेर मिति घोषणा गरेकोमा आपत्ति जनाएका छन् । उनीहरुले बद्नियतपूर्ण तरिकाले एकपक्षीय रुपमा गर्न लागिएको चुनावले स्ववियुको गरिमालाई खिल्ली उडाएको समेत जनाएका छन् ।
सर्वोच्च अदालतले चैत २ गते सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन मिति घोषणा गरिएको हो ।
नौं विद्यार्थी संगठनले निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको अवस्थामा फागुन १९ गते नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हुने तथा सर्वोच्च अदालतले महान्यायाधिवक्तामार्फत् विपक्षीलाई लिखित जवाफ पेस गर्ने दिएको १५ दिने म्यादलाई समेत पूर्ण रुपमा बेवास्ता गरी १५ दिन अगावै निर्वाचनको मिति तोक्नु आदेशकै अवज्ञा भएको ठहर समेत गरेका छन् ।
Comments







