काठमाडौं १३ फागुन


नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा तीन नम्बर प्रदेश कमिटी पार्टी इन्चार्ज झक्कु सुवेदीले अबका केही दिनमा एमालेले चुनावको विरोध सुरु गर्ने बताएका छन् ।
३१ वैशाखका लागि सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा एमालेको गत २०७० सालको जस्तो नतिजा नआउने भन्दै एमालेले पराजय भोग्नुपर्ने स्थिति आउने देख्न साथ कुनै न कुनै बहाना बनाएर निर्वाचनको विरोध गर्न थाल्ने बताए । 
प्रेस सेन्टर नेपाल तीन नम्बर प्रदेश समितिको बैठकमा मन्तव्य राख्ने क्रममा बिहीबार नेता सुवेदीले एमाले हार्ने स्थितिमा पुगिसकेको र २०७० को जस्तो नतिजा नआउने दाबी गरे ।
‘एमालेलेलाई मज्जाले थाहा छ कि चुनावमा कसरी जितिन्न भन्ने, त्यसो हुँदा उसले जोड घटाउ गर्दा आफ्नो हार देख्छ हेर्दै जानुस् एमालेले अब केही दिनमा वक्तव्य निकालेर निर्वाचनको विरोध गर्नेछ’ नेता सुवेदीले भने ।
नेता सुवेदीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सुरुमा निर्वाचन घोषणाको स्वागत गरे पनि पुनः अर्को विज्ञप्ति निकालेर विरोध गरेको भन्दै एमाले पनि त्यहीँ लाइनमा पुग्ने आशंका समेत व्यक्त गरे ।
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्षद्धय ओम शर्मा, बलराम थापा, महासचिव विष्णु सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।