काठमाडौं ९ फागुनप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन मिति घोषणा भएको दिनलाई ऐतिहासिक दिन भएको बताएका छन् ।


स्थानीय तहको निर्वाचन मिति ३१ वैशाख २०७४ मा घोषणासँगै सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्रको रक्षा तथा परिवर्तनका सबै मुद्धा र संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएको समेत बताएका छन् । ‘सबैलाई समेटेर देशलाई निर्वाचनतिर लैजानुको कुनै विकल्प नभएकाले ऐतिहासिक दिनका रुपमा आज (सोमबार) निर्वाचन मिति घोषणाको निर्णय भएको छ’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुसँग समझदार बनाउने कोसिस गरेर नै निर्वाचन मिति घोषणा गरिएको समेत दाबी गरेका छन् । ‘निर्वाचन अनिवार्य रुपमा हुन्छ, दृढताका साथ निर्णय गरिएको छ’ प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक दलहरुसँग समझदारी बनाउने पुरै कोसिस गरिएको छ ।’

प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि पनि आफूहरु दृढ रहेको समेत बताए । ‘तराई मधेस लगायत ठाउँमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय पनि गरेका छौं । संशोधन विधेयक अघि बढाउने कुरालाई पनि हामीले आत्मसात गरेका छौं । त्यसैगरी संघीय आयोग गठन गर्ने कुरालाई पनि हामीले आत्मसात गरेका छौं’ प्रधानमन्त्रीले भने । उनले संविधान संशोधन प्रस्ताव भोलीबाटै अगाडी बढ्ने समेत स्पष्ट पारे । 

प्रधानमन्त्री दाहालले नेपालकै इतिहासमा एकै दिन तीन वटा बैठक बसेर निर्वाचन मिति घोषणा गरेको समेत उल्लेख गरेका थिए । ‘नेपालको इतिहासमा नै आज मन्त्रीपरिषदका तीनवटा बैठक बस्यो’ दाहालले भने, ‘अन्तिममा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने र एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भनेर निर्णय भएको छ ।’ प्रधानमन्त्रीले आम जनतालाई अभियानका रुपमा निर्वाचन सम्पन गर्ने वातावरण निर्माणका लागि सहयोग गर्न मिडियासँग सहयोग समेत मागेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।