काठमाडौँ, १० कात्तिक । संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउने प्रयासमा एमालेको भूमिका प्रभावकारी नभएको भन्दै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा रुष्ट बनेको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले एमालेले विगतको सहमति र सम्झौताभन्दा बाहिर गएर राज्य पुनःसंरचनाको विषयमा अडान अगाडि सारेको भन्दै आपत्तिसमेत प्रकट गरेको छ । 
संविधान निर्माणमा सहमति जुटाउने ढङ्गले नेपाली काँग्रेस प्रस्तुत भए पनि एमालेको भूमिका सहमति निर्माण गर्नेभन्दा पनि परिस्थितिलाई नकारात्मक बनाउने दिशातर्फ केन्द्रित भएको ठहर बैठकले गरेको बैठकमा सहभागी नेताको भनाइ छ । 
आइतबार एमाले र एमाओवादीबीच भएको दुई दलीय वार्तामा एमालेले उत्तर दक्षिण जोड्ने गरी चार प्रदेशको प्रस्ताव गरेको थियो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन दलको बीचमा हालसम्म भएको छलफलमा भएका प्रगतिबारे धारणा राखेका थिए । 
एमालेको प्रस्ताव सहमति बनाउने ढङ्गले नआएको विषयमा बैठकमा छलफल भएको एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए । 
उनले राज्य पुनःसंरचनाको सम्बन्धमा काँग्रेसको भूमिका सकारात्मक देखिएको तर शासकीय स्वरूप र निर्वाचन प्रणालीका सम्बन्धमा भने थप छलफलको जरुरत रहेको निष्कर्ष निकालिएको बताए ।
यस्तै, बैठकमा मोर्चाले यही कात्तिक १८ गते पाँचथर, २२ गते जनकपुर र २५ गते कैलालीको धनगढीमा आयोजना गरिएको जनसभाको तयारीका विषयमा छलफल भएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।