३३ दलीय मोर्चाकै माग अनुसार सरकारले सर्वपक्षीय सम्मेलन (गोलमेच) को मिति ४ दलको निर्णय बमोजिम आज तोकिएको थियो । उक्त सम्मेलनमा ३३ दलले भने भाग नलिएपछि दलहरुको प्रयास व्यर्थै बन्न पुग्यो ।
कांग्रेस एमालेले नेकपा माओवादी बैठकमा बस्न नै नचाहेको आरोप लगाएको छ । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भने सर्वदलीय सम्मेलनको कार्यसूची, क्षेत्राधिकारलगायतका विषयहरुमा सत्तारुढ दलहरु सहमत नभएकाले बैठकमा नबसेको बताएका छन् ।
सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने, सम्मलेनको पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलको बीचमा कुनै पनि लिखित सहमति पनि गर्न नसकिने सत्तारुढ दलहरुले भनेपछि आफूहरु बैठकमा नबसेको अध्यक्ष वैद्यले बताएका छन् ।
‘उक्त सम्मलेनको कुनै अर्थ र औचित्य देखिएन’ अध्यक्ष वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ संविधान निर्माण, शान्तिप्रक्रियाका कार्यहरु र दूरगामी प्रभाव पर्ने राष्ट्रिय राजनीतिक महत्वका विषयहरुबारे सर्वपक्षीय राजनीतिक सम्मलेनद्वारा राष्ट्रिय सहमति कायम गरेर विद्यमान समस्याहरुको निकास खोजिनुपर्छ ।’
शाब्दिक रुपमा सर्वदलीय सम्मेलन गर्ने भनिएपनि त्यसको कार्यसूची, क्षेत्राधिकारलगायतका विषयहरुमा सत्तारुढ दलहरु सहमत नभएको पनि उनले बताएका छन् ।
स्रोतका अनुसार आज बिहान बालुवाटारमा बसेको चार दलीय बैठकमा नेकपा–माओबादीले शान्ति प्रक्रिया र संक्रमणकालिन अवस्थाका विषयमा चार दलबीच लिखित राजनीतिक सहमतिको प्रस्ताव सारेको थियो । तर बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने, ‘शीर्ष तहको मिटिङमा एमालेको तर्फबाट कुनै पनि प्रकारको कागजमा साइन गर्ने छैन ।’ ओलीको त्यस्तो अडानवाट बिच्किन पुग्यो ।