काठमाडौं २२ फागुन । नयाँ शक्तिका निवर्तमान प्रवक्ता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले देवकोटालाई सोमबार पार्टी प्रवेश गराए । पार्टी मुख्यालय पेरिसडांडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि फर्कन आग्रह गरे । ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस्’ दाहालले भट्टराईलाई भने । माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने उनको भनाई थियो ।

सबै कम्प्युनिष्ट एक हुनुपर्नेमा जोड दिँदै उनले अहिले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए । ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन । ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’ उनले भने ।

दाहालले देशमा कम्यूनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रीत हुन सबैमा आव्हान समेत गरे । पार्टी एकताको पक्षमा बिभिन्न किसिमले तर्क बितर्क भइरहेको सन्दर्भ चर्चा गर्दै उनले जनताले एकताको पक्षमा आदेश दिएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।