काठमाडौं २ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसीसी) मा छापा मारेर केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ । एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले शुक्रबार बिहान बैंकका ऋण अधिकृतसहितका कर्मचारीलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार अनुसन्धानका लागि एक दर्जन बढी अधिकारी समातिएका छन् ।
करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको अनुमानसहित सिआइबीले छापा मारेर कर्मचारीलाई नियन्त्रणमा समेत लिएको हो । मर्ज हुनुभन्दाअघि भएको घोटालाबारे राष्ट्र बैंकले सिआइबीलाई अनुसन्धान गर्न भनेकाले छापा मारेको सिआइबीले जनाएको छ । यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।