काठमाडौं २५ जेठ । अब सांसदहरु फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान भएपछि पद कायमै हुने भएको छ । फौजदारी अभियोगवाला सांसदले जेलभित्र पनि सलुट खाने नियम आउन लागेको हो ।
संघीय संसदको नियमावलीमा फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहितको मस्यौदामा कांग्रेसले असहमति जनाएपछि अब यस्तो नियम आउन लागेको हो । अब फौजदारी अभियोग लागे सांसदलाई निलम्बन नगर्ने तर सेवा सुविधा खोस्ने नियम बन्नेछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै नियमावली समितिमा कांग्रेस र राजपाको विरोधपछि फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो । तर तत्कालीन नेकपा एमालेका सांसदहरुले नैतिक पतन हुने अभियोग लागेर पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए ।







