विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन् ।

विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर भएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिए ।

उनले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लडियो भन्दै अब, देशमा सुशासन जनताको भलाइ कसरी गर्ने, सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “संविधानले व्यवस्था गरेका हक अधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिकरुपमा कार्यान्वयन गरी आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ भन्दै जनप्रतिनिधिलाई जनताको सेवकका रुपमा काम गर्न, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने संकल्पका साथ अगाडि बढ्न सुझाव दिए।

उनले भने, “म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ । मैले त्यसैगरी, मन्त्रिपरिषद् र कर्मचारीतन्त्रलाई पनि स्वच्छरुपमा काम गर्न निर्देश गरेको छु ।”

हामी जनप्रतिनिधिप्रति जनताको सम्मान र विश्वास रहेको र जनप्रतिनिधिलाई खान पाउन पनि समस्या नरहेको उल्लेख गर्दै उनले ६० देखि ८० लाख गरिबीमुनि रहेका जनतालाई परिवर्तनको अनुभूति गराउनतर्फ अग्रसर हुनुपर्ने बताए ।

राष्ट्रियताको सम्बन्धमा चर्चा गर्दै उनले भने, “मुलुक कहिल्यै पनि उपनिवेश नबनेको, स्वाधीन राष्ट्रका रुपमा रहेको र अब नेपाल उचाइमा पुगेको र सबै देशसँग बराबरीमा रहेर आफ्नो निर्णय आफैँ गर्छ ।”

उनले प्रदेशहरुलाई योजनाका लागि बजेटको व्यवस्था संघीय सरकारले ऋण लिएर भए पनि उपलब्ध गराउने उल्लेख गरे ।

उनले सरकार समझदारीका साथ चलेको र समझदारीमै नीति तथा कार्यक्रम पारित भएकामा प्रतिपक्षलाई धन्यवाद दिँदै आधारभूत समझदारी, स्थायित्व, शान्ति, विकास र लोकतन्त्रलगायतका विषयमा मिलेर अगाडि बढ्न आग्रह गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।