काठमाडौं १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बिहीबारदेखि पेपरलेस मन्त्रीपरिषद बैठक सुरु भएपनि विभिन्न मन्त्रालयले बेवसाइटमा प्रवक्ताको विस्तृत विवरण समेत राखेका छैनन् ।
यसअघि प्रवक्ता र सुचना अधिकारीको नाम नम्बर स्पष्ट रुपमा बेवसाइटमा राख्दै आइएपनि पछिल्लो समय विभिन्न मन्त्रालय तथा केन्द्रीय विभागका प्रवक्ता तथा सुचना अधिकारीको सम्पर्क नम्बर हटाउन थालिएको हो । कतिपय मन्त्रालयका प्रवक्ताले कार्यालयकै मात्र नम्बर राखेर प्रवक्ताहरु सुचना दिनबाट पछि हट्ने प्रयास गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक बेवसाइट ओपिएमसिएमको सबैभन्दा तल्लो भागमा मन्त्रालय र केन्द्रिय निकायहरुका प्रवक्ता तथा सहसप्रवक्ताहरुको नामावली र सम्पर्क विवरण भनेर उल्लेख गरिए पनि उक्त लिंक नै नखुल्ने बनाइएको छ । यसअघि, सूचना तथा सञ्चार मन्त्रालयले सबै निकायका प्रवक्ताहरुको नाम र मोबाइल नम्बर राखेर सूचनामा सहज गराउने गरेपनि त्यो व्यवस्थाको निरन्तरता दिन वर्तमान सरकार सफल बनेको छैन ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ताको नाम र सम्पर्क नम्बर बेवसाइटमा राखिए पनि गृह मन्त्रालय तथा रक्षा मन्त्रालयका प्रवक्ता र सहप्रवक्ता तथा सुचना अधिकारीको सम्पर्क नम्बर राखिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त सम्पर्क नम्बर मात्र नभएर प्रवक्ताको नाम समेत राखिएको छैन भने सुचना अधिकारीको नाम मात्र राखिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बेवसाइटमा पनि सुचना अधिकारीको मात्र नाम राखिएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता र सुचना अधिकारीको नाम समेत राखिएको छैन । शिक्षाको बेवसाइट निर्माणमा रहेको लामो समयदेखि सुचना राखिदैं आएको छ ।
संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवक्ताको नम्बर पनि बेवसाइटमा राखिएको छैन ।
यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयले सम्पर्क नम्बर राखेका छैनन् ।
अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, खानेपानी मन्त्रालय, सहकारी विकास मन्त्रालयले भने मन्त्रालयको ल्याण्डलाइन फोन सम्पर्कमा राखेका छन् । कार्यालय समय भन्दा पछि जानकारी नदिन उनीहरुले मोबाइल नम्बर नराखेर कार्यालयको नम्बर मात्र राख्ने गरेका हुन् । वन तथा वातावरण मन्त्रालयको बेवसाइट भने यो समाचार तय गर्ने क्रममा खोल्न प्रयास गर्दा समेत नखुल्ने देखिएको छ ।
प्रधानमन्त्री कार्यालयका साथै सञ्चार र परराष्ट्र मन्त्रालयको प्रवक्ता र सुचना अधिकारीको नाम तथा मोबाइल नम्बर राखेर दवाफदेहिता देखाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनाेद कुँवरले मन्त्रालय तथा केन्द्रीय निकायमा प्रवक्ताको नाम तथा सम्पर्क नम्बर नराखेकोमा राख्न लगाइने जनाए ।