काठमाडौं । एक दशकअघि राजधानीमा सरकारले चलाएको ट्रली बस थिए । अहिले बन्द छ । न सरकारले त्यसलाई चलाउन ध्यान दियो, न त विद्युतीय बस ल्याउनेतिर नै सोच्यो । बरु दुई तिहाई बहुमत प्राप्त सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल भने निजी क्षेत्रबाट सञ्चालित विद्युतीय बसमा आज दिउँसो चढेर रमाए । नीजि क्षेत्रबाट सञ्चालित बसको उदघाटन गर्न पुगेका उनी मख्ख थिए ।
अझ रमाइलो कुरो त के भने सडक तथा बसकाे उदघाटन गर्न यातायात मन्त्री गएको भएपनि हुने, किनभने विभागीय मन्त्री यातायात मन्त्री हुन् तर रक्षामन्त्री गएर सरकारी यातायात मासिएको अवस्थामा नीजि क्षेत्रको यातायातमा रमाउनुले धेरै अचम्मित नहुने कुरो पनि रहेन ।
सोमबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा पोख्रेलले बिजुली बसको सेवा आरम्भ गरेका थिए । पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो ।
काठमाडौं महानगरपालिकामा विद्युतीय बस सेवा सोमबारदेखि पहिलो पटक निजी क्षेत्रको सुन्दर यातायात प्रालिले सुरु गरेको हो । प्रालिले तत्कालका लागि चारवटा बस सञ्चालन गरेको जनाएको छ ।