यातायातमन्त्री पत्नीलाई पनि करोडको सरकारी गाडी

काठमाडौं । सरकारले बनाएकै कानुन अनुसार कुनै पनि मन्त्रीले एक भन्दा बढी सरकारी गाडी प्रयोग गर्न पाउँदैनन् । उनका परिवारका सदस्यको त कुरै नगरौं । तर, जनताले विकास र समृद्धिका लागि भनेर दुई तिहाई मत दिएका वर्तमान सरकारका भौतिक पूवर्धार तथा यातायात मन्त्री रघुवीर महासेठले श्रीमतीका लागि पनि सरकारी गाडी उपलब्ध गराएका छन् ।

राजधानी दैनिकका अनुसार बा२झ १०७० नम्बरको मित्सुबिसी पजेरो मन्त्री पत्नीले प्रयोग गर्ने गरेकी छिन् । मन्त्रालय स्रोतका अनुसार करोड बढी मूल्यको सो गाडी मन्त्री महासेठले सडक विभागलाई दबाब दिएर झिकाएका हुन् ।

सरकारले २५ वैशाख २०७५ को मन्त्रीपरिषद बैठकबाट सार्वजनिक खर्चमा मितव्यतिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५ जारी गरेको थियो । मार्गदर्शनको बुँदा नम्बर दुईमा उच्चपदस्थ पदाधिकारीहरु आफैं मर्यादित, मितव्यायी एवं उदाहरणीय रुपमा प्रस्तुत भई अनुकरणीय कार्यशैली प्रस्तुत गर्ने उल्लेख छ । मन्त्री महासेठले भने श्रीमतीका लागि पनि गाडी उपलब्ध गराएका छन् ।