काठमाडौं । करिब दुई दर्जन व्यक्तिलाई जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका मोहम्मद आफताव आलमको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेका छन् ।

हिजो १२ वर्षपछि आलमलाई पक्राउ गरेर कांग्रेसविरुद्ध षड्यन्त्र भएको बताएका उनले आज भने अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका छन् । अपराधीको संरक्षण गरेको भन्दै चौतर्फी चर्को आलोचना भएपछि देउवाले विज्ञप्ति नै जारी गरेर आफ्नो अडानबाट पछि हटेका हुन् । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गर्दै आफ्नो बचाउ गरेका छन् ।

उनले मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको पनि बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।