कान्तिपुरले फेला पारेको भिडियोः प्रहरीकै अगाडी मान्छे मार्ने र आगो लगाउने आलमको धम्की

काठमाडौं । चुनावमा बम पड्काउन बम बनाउने क्रममा विष्फोटपछि घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोगपछि पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै अगाडी मार्ने र आगो लगाउने धम्की दिएको खुलेको छ । कान्तिपुर फेला पारेको दाबी गरिएको भिडियोमा यस्तो रहेको आजको कान्तिपुरमा संवाद छापिएको छ । जुन यस प्रकार छ:

आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?

प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौं हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं ।

आलमः (गाडीमा हात बजार्दै) हँ… यो जिल्लामा आग (आगो) लाग्छ, आग ।

प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि ।

आलमः यो जिल्लामा आग (आगो) लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस… (उनी आफ्नो मोबाइल फोन हेर्छन्)

प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।

आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले ।

प्रहरीः हैन माननीयज्यू ।

आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।

प्रहरीः माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ?

आलमः (चिच्याउँदै) हँ… एकदम हुन्छ, हुन्छ, हुन्छ ।

प्रहरीः त्यसो भन्न हुँदैन हजुर ।

आलमः (प्रहरीतर्फ औंला ठड्याउँदै) तपाईं (डीएसपी नवीन कार्की) र एसपी (भूपेन्द्र खत्री) लाई हत्कडी लगाउँछु ।

प्रहरीः ठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं ।

आलमः अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ ।

प्रहरीः शान्तिसुरक्षा गर्ने दायित्व हजुर (आलम) को पनि हो ।

आलमः तपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ ।

प्रहरीः बरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर ।

आलमः (चर्को स्वरमा) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।

प्रहरीः हामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर ।

आलमः होइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ ? मेरो भारतबाट…

प्रहरीः माननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं ।

आलमः होइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुर/इन्द्रिस गेट) मा हजारौं मानिस जम्मा
हुन्छन् अब ।

प्रहरीः केका निम्ति हजुर ? हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर ।

आलमः होइन, तपाईं दुइटा पुलिस राखेर… (शब्द बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नु हुनेछ ।

प्रहरीः हजुरले मलाई कहाँ दोष दिन मिल्छ र ? हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं ।

आलमः हैन, हैन ।

प्रहरीः हजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।