काठमाडौं । सरकारले भोलिदेखि सुरु हुने एसईई परीक्षा र विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । आगामी सातादेखि त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम वर्ष र कानुन शंकायतर्फ स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन हन गइरहेका थिए । ती सबै तत्कालका लागि स्थगित भएका छन् ।
कोरोनाबारे निर्णय गर्न गठित उपप्राधानमन्त्री पोखरेलको नेतृत्वको समन्वय समितिले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो । तर, लगत्तै सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि परीक्षा स्थगित हुन पुगेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।