काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण सोमबार राती फेरि १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताएका छन् ।

उनका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ । नयाँ संक्रमित सबै पुरुष छन् । उनका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाङ हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन् ।

यसअघि आजै ६२ जनामा संक्रमण देखिएको थियो । बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंँगै आजमात्रै ८० जनामा संक्रमण देखिएको छ । आज देखिएका संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

आज देखिएको संख्या सबभन्दा बढी हो । आज देखिएकासंँगै संक्रमितको संख्या ३७५ पुगेको छ । दुई जनाको कोभिड –१९ का कारणले मृत्यु भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।