सांसद पम्फा भुसालको एउटा आवाजले ८ लाखलाई नि:शुल्क बिजुली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा सांसद पम्फा भुसालले १२ भदौ २०७६ बिहीबारका दिन प्रतिनिधिसभाको विशेष समयमा बोल्न समय माग गरिन् ।

प्रतिनिधिसभाको त्यसदिनको बैठकमा अन्य थुप्रै सांसदहरुले शुन्य समयमा समसामयिक तथा राजनीतिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराईसकेका थिए ।

ललितपुरबाट निर्वाचित सांसद भुसालले भने शुन्य समयमा नै राख्दा हुने विषयलाई पनि महत्वपूर्ण ठानेर विशेष समयमा राख्न चाहिन् । पूर्वमन्त्री तथा बरिष्ठ नेतृ भएको हैसियतमा उनले समय पनि पाइन् ।

‘हामीले भर्खरै छिमेकी राष्ट्रको सुनेका छौं, २ सय युनिटसम्म निःशुल्क वितरण गरेर बत्ती बालिएको छ, म अहिले यहाँ जनतालाई निःशुल्क त भन्दिन तर २ सय युनिटसम्म प्रयोग गर्नेलाई न्यूनतम ३ रुपैयाँसम्म दिइयोस् ।’ उनले निक्कै जोडतोडले सरकारसँग माग राखिन् ।

याे पनि पढ्नुहाेस्- जनतालाई युनिटको ३ रुपैयाँले बिजुली देउ : सांसद भुसाल (भिडियोसहित)

सांसद भुसाल त्यतिमा मात्र रोकिनन् । नेपाली जनताले असाध्यै महंगो बिजुलीको बिल तिर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले सिचाईका लागि बिजुली प्रयोग गर्ने जनता र खानेपानी लिफ्ट गरेर तान्ने जनतालाई बिजुली निःशुल्क गराउन समेत माग गरिन् ।

‘जलविद्युत जस्तो आधारभूत कुरा सरकारले आफैं उत्पादन र वितरण गर्नु पर्दछ, कम लागतमा सस्तो ढंगले बन्ने योजनाहरुको सुरु गरियोस् र जनतालाई सस्तो भन्दा सस्तोमा बिजुली दिइयोस् म नेपाल सरकारको गम्भीर ढंगले ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् ।

सांसद भुसाललको त्यस दिनको एक आवाजले अहिले ८ लाख नेपालीको मुहारमा खुसी छाएको छ भने अन्यका लागि समेत विद्युत महसुलमा छुटको व्यवस्था समेत आएको छ । सांसद भुसालले संसदमा उक्त विषय उठाएसँगै विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले नेपाली जनतालाई सस्तोमा बिजुली उपलब्ध गराउनेबारे तयारी थालेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ जेठमा संघीय संसदमा प्रस्तुत गरेको बजेटमा अब १० युनिट भन्दा कम बिजुली खपत गर्ने ग्राहकले निःशुल्क रुपमा विद्युत पाउने उल्लेख छ । सरकारले मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा पनि गरेकाे छ ।

ऊर्जा मन्त्रालयका अनुसार मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्रार्हस्थ ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउँदा ८ लाख परिवार लाभान्वित हुने भएका छन् । उनीहरुलाई निःशुल्क विद्युतको व्यवस्था साउनदेखि नै गराइने छ ।

सरकारले खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाहा गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा पनि सरकारले गरेको छ ।

यसरी, सांसद भुसालको माग जस्तै २ सय युनिट भन्दा कम युनिट बिजुली खपत गर्नेलाई ३ रुपैयाँमा नपाए पनि १० युनिट भन्दा कम खपत गर्नेलाई सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ भने मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा गरेकाे छ ।

सांसद भुसालले सिचाईका लागि बिजुली प्रयोग गर्ने जनता र खानेपानी लिफ्ट गरेर तान्ने जनतालाई बिजुली निःशुल्क गराउन माग गरेकाेमा सरकारले खानेपानी र सिँचाई उपभोक्ताले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने र विद्युत महसुलमा सहुलियत दिने घोषणा गरेको छ । यी सहुलियतहरु आगामी आर्थिक वर्ष अर्थात साउनदेखि लागू हुनेछन् ।

सांसद पम्फा भुसालले १२ भाद्र २०७६ मा संसदमा सरकारसँग राखेको मागको भिडियो हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।