काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सैनिक बसालेर कब्जा गरेको नेपाल भूमि फिर्ता गर्नु नै नेपाल भारत सिमा विवाद समस्याको समाधान भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार संसदमा बजेटमाथि सांसदहरुले उठाएका जवाफको प्रतिउत्तर दिने क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतसँगको सीमा विवाद समाधानको विकल्प नेपाली भूमि फिर्ता हुनु नै रहेको बताए ।

भारतसँगको सीमा विवाद प्रमुख रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको बताउँदै ओलीले उक्त भूमि फिर्ता हुनुपर्ने बताए । उनले कालापीनीमा भारतीय फौज बसेर त्यसभन्दा परको लिपुलेक र लिम्पियाधुरालाई भारतले कब्जा गरेको भन्दै हामीबाट त्यो भूमि भोगचलन गर्न सेना राखेर छुट्याइएको जनाए ।

‘सेना राखेर भोगचलन गर्न नदिइएको हो । यो कब्जा हो’ प्रधानमन्त्रीले भने, ‘यो उचित भएन भनेर हामी हाम्रो मित्रराष्ट्र भारतलाई भनिरहेका छौं । तथ्य, प्रमाणका आधारमा भनिहरेका छौं भूमि फिर्ता गर्नुपर्छ । कालापानी विवादको समाधान भनेको हाम्रो भूमि फिर्ता गर्नु हो ।’

भारतले नक्कली महाकाली नदी खडा गरेर ठूलो क्षेत्रमा सैनिक कब्जा गरेको प्रधानमन्त्रीको भनाइ थियो । भारतसँग कतिपय क्षेत्रमा सीमा विवाद रहे पनि कालापानीमा भारतको कब्जा भएको उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।