काठमाडौँ — भिडियो कन्फरेन्स वा भर्चुअल बैठकका लागि सरकारी निकाय राष्ट्रिय सूचना प्रविधि केन्द्रले बनाएको वेब एप भए पनि प्राय: सरकारी कामकाजका लागि नि:शुल्क पाइने र लाइसेन्स किन्नुपर्ने थर्ड पार्टी एप प्रयोग भइरहेका छन् ।
केन्द्रले मिट डट एनआईटीसी डट जीओभी डट एनपीमा वेबमा आधारित भिडियो कन्फेरेन्सी सुविधा तयार पारेको छ । जिट्सी नामक नि:शुल्क पाइने भिडियो कन्फरेन्सिङ एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) प्रयोग गरी केन्द्रले यो सुविधा तयार पारेको प्रवक्ता रमेशप्रसाद पोखरेलले जानकारी दिए । ‘जिट्सीको ओपन सोर्स कोडलाई केही संशोधन गरी केन्द्रको सर्भरमा होस्ट हुने गरी यो प्लेटफर्म तयार पारिएको हो,’ उनले भने ।
केन्द्रका प्रवक्ता पोखरेलले सरकारी कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी तयार पारिएकाले यो सुरक्षित हुने बताए । लकडाउन सुरु भएको भोलिपल्ट चैत १२ मा केन्द्रले यो प्लेटफर्म तयार पारेको हो । केही प्रदेश कार्यालयबाट आपत्कालीन अवस्थामा कसरी सञ्चार र सम्पर्क गर्ने भन्ने चासो व्यक्त भएपछि केन्द्रले यसलाई तत्काल निर्माण गरेको थियो । तर सबै सरकारी कार्यालयले यसलाई प्रयोग गर्न सक्ने गरी पूर्वाधार बनिनसकेको पोखरेलले जानकारी दिए । ‘अहिले केही मन्त्रालयसहित ३४ वटा कार्यालयले आन्तरिक संवादका लागि यसलाई प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘सबै निकायमा प्रयोग गर्न सर्भर र ब्यान्डविथसहित थप पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ ।’
जुममा जस्तो फिचर नभए पनि भिडियो बैठकका लागि यो प्लेटफर्म सहज हुने केन्द्रका प्रवक्ता पोखरेलले बताए । केन्द्रले योसहित जुमको इन्टरप्राइज भर्सनलाई पनि आफ्नो सर्भरमा होस्ट गरी सरकारी प्रयोजनका लागि प्रयोग गर्न सकिने बनाएको छ । ‘जुममा भएको वेटिङ रुम, होस्ट, सहभागी बनाउने फिचरले यसलाई सुरक्षित बनाएको छ,’ पोखरेलले भने, ‘यसको सुरक्षा फिचरहरू प्रयोग गरे यो पनि सुरक्षित छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहलाई जुम सफ्टवेयरको लाइसेन्स उपलब्ध गराएको छ । यूएनडीपीको सहयोगमा मन्त्रालयले स्थानीय तहलाई जुमको लाइसेन्स उपलब्ध गराएको हो । सोमबार जुममार्फत पर्यटनमन्त्री योगेश भट्टराई सहभागी भर्चुअल बैठकमा कसैले अश्लील भिडियो प्ले गराएको घटनापछि यसको सुरक्षालाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ । सामाजिक सञ्जाल हुँदै राष्ट्रिय सभामा समेत मंगलबार यस विषयमा कुरा उठ्यो । राष्ट्रिय सभा सदस्य कोमल वलीले सरकारको आफ्नै सफ्टवेयर हुँदाहुँदै किन असुरक्षित जुमलगायतका टुल प्रयोग गरेको भनेर प्रश्न गरिन् । – कान्तिपुरबाट