काठमाडौं । संघीय राजधानी काठमाडौंस्थित काठमाडौं महानगरपालिकामै एउटा पनि क्वारेन्टाइन स्थापना गरिएको छैन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा तिब्र रुपमा फैलिरहँदा काठमाडौं उपत्यकामा नै तयारी फितलो देखिएको हो ।

सरकारले जनजिवन सहज बनाउन लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरण नागरिकहरु काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यकाका स्थानीय तहहरुले क्वारेन्टाइनको व्यवस्था गरेका छैनन् ।

काठमाडौं महानगरपालिका प्रवक्ता इश्वर डंगोल महानगर अन्तर्गत एउटा पनि क्वारेन्टाइन नभएको बताउँछन् । ‘हामीसँग एउटा पनि क्वारेन्टाइन छैन, यहाा दिनमा हजार बढी मानिस भित्रिएका छन्, एउटा वडामा सरदर ३ हजार आउने देखिन्छ, त्यसरी हेर्दा हामीलाई एक लाख भन्दा बढी अट्ने क्वारेन्टाइन आवश्यक पर्छ, जनशक्ति अभावमा क्वारेन्टाइन बनाउन सकिएको छैन ।’ उनले भने ।

उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरुले क्वारेन्टाइन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टाइन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन पर्यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं तर केही सहयोग भएन ।’ उनले भने ।
उनी काठमाडौं आउनेहरुलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् ।

काठमाडौं महानगरपालिकाको मात्रै यस्तो हालत भने हैन, काठमाडौं उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ ।

काठमाडौं उपत्यमा क्वारेन्टाइन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरु क्वारेन्टाइन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो घर कोठा पुगेर सिँधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा १४ दिन बस्दै आएका छन् । तर, उपत्यका भित्रनेहरुलाई क्वारेन्टाइनमा बस्नपर्ने व्यवस्था छैन भने उपत्यकाका केही स्थानीय तहले केही ठाउँमा व्यवस्था गरेको क्वारेन्टाइन बाहेक अन्यले क्वारेन्टाइनको व्यवस्था समेत गरेको पाइएको छैन ।

पशुपतिको धर्मशालामा रहेको क्वारेन्टाइनमा एक पटकमा ७० जनाको व्यवस्थापन गर्न सकिने गरी क्वारेन्टाइन बनाउने तयारी छ । त्यस्तै, भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको जनाएको छ । तर तिनीहरुलाई अहिले खाली अवस्थामा राखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।