काठमाडौं । काठमाडौंमा शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निक्कै आक्रोशित अभिव्यक्ति दिए । उनले नेकपा एमाले दल दर्ता गर्न ओलीकै संलग्नता रहनेमा जोड दिए भने उनको अभिव्यक्ति नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको सन्देश पनि थियो ।
पछिल्लो समय ओली प्रचण्डबीच सहमति भएको चर्चा चलिरहेको बेला एकैचोटी प्रचण्ड किन यति धेरै आक्रोशित भए भन्ने चासो बढेकाे छ ।
नेकपा विवाद समाधानउन्मुख दिशामा अघि बढ्दै गर्दा शुक्रबार बिहान प्रचण्ड ओलीको भेटले माहोल बिग्रन पुगेको हो । भेटमा प्रचण्डले सबैलाई मिलाएर लैजानुपर्ने प्रस्ताव राख्दा ओलीले भैँसी नै लिएपछि त्यसका जुम्रा ल्याउन नपर्ने भन्दै जुम्रा त भैँसीसँगै आउने बताएका थिए । ‘तपाईँ र मैले हो पार्टी एकता गरेको । तपाईँ र म भएपछि अरुसँग किन कुरा गर्ने ? ओलीको प्रश्न थियो ।
माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहितको गठनबन्धनमा रहेका प्रचण्डले छलफलमा विवाद समाधानका लागि प्रधानमन्त्री पनि भएकाले आफैले पहल लिन र कुनै एक पदमा बसेर अन्य व्यक्तिलाई पनि जिम्मेवारी दिन आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए ।
प्रधानमन्त्री ओलीले तपाईँहरु मेरोविरुद्ध गुटबन्दी गर्ने, राजीनामा दिनका लागि बहुमत पुर्याएको हल्ला गर्ने र मलाई कुर्सीबाट हटाउन खोज्ने भन्दै अब समझदारी नहुने बताए । ‘तपाईँहरुले सकेको गर्नुस् । मैले पनि तयारी गरेकै छु । यसरी पार्टी एकता हुँदैन ।’ ओलीले प्रचण्डसँग भने ।
सुरुमा सौहर्दपूर्णमा रुपमा छलफल गरेका दुई अध्यक्षबीच कुरा हुँदै गर्दा झन् झन् माहौला बिग्रिन पुगेको थियो ।
प्रचण्ड अन्तमा तपाईँ अब के के गर्ने गर्नुस्, म तपाईँलाई पार्टी फुटाउन दिन्न । अब प्रक्रियागत हिसाबले निर्णय गर्दै अगाडि बढौँ । नेतृत्वविरुद्ध अनावश्यक दबाब सिर्जना गर्ने र धम्की दिने ? यसरी हुँदैन भन्दै बालुवाटारबाट निस्किएका थिए ।
दिउँसो आयोजित एक कार्यक्रममा उनले एमाले दल दर्ता गर्न प्रधानमन्त्री ओलीकै संलग्नता रहेको आरोप लगाए । उनले नेकपा संकटमा रहेको भन्दै ओलीको पहल र सक्रियतामा एमाले दर्ता गर्न लागिएको बताएका थिए ।