काठमाडौं । एक जना ३६ वर्षीया नर्समा कोरोना संक्रमण भएर निको भएको डेढ महिनामै दोस्रो पटक पुनः कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजमा ती नर्सलाई डेढ महिनाकै अवधिमा दोस्रो पटक संक्रमण देखिएको हो ।
नारायणी अस्पतालको आइसियू वार्डमा कार्यरत स्टाफ नर्सको भदौ १० गते राति दोस्रो पटक संक्रमित भएको पुष्टि भएको हो। उनी डेढ महिना पहिले नारायणी अस्पतालमा काम गर्ने क्रममा पनि संक्रमित भई एक सातापछि निको भएकी थिइन्।
विश्व स्वस्थ्य संगठनका अनुसार एक जना संक्रमित निको भएको तीन महिना अर्थात ९० दिनसम्म दोस्रो पटक संक्रमित हुने सम्भावना एकदमै न्यून रहेको हुन्छ । तर उनमा भने पुनः कोरोना पुष्टि भएको हो ।
उनका ४० वर्षीय श्रीमान स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक हुन् । उनीहरुको एक १४ वर्षीय छोरा पनि संक्रमित छन् । ती नर्समा पहिलो पटक लक्षण नभए पनि अहिले भने अहिले भने छाती दुख्ने समस्या रहेको जनाएकी छिन् ।