काठमाडौं । नेपालीद्धारा खोलिएको भनेर प्रचार गर्दै आएको सगुनले फेरि पनि नेपाली बजारमा आईपिओ खुल्ला गरिएको भन्दै विज्ञापन गरेर गैरकानुनी रूपमा सर्वसाधरणकाे लगानी जुटाउने काेसिस गरेकाे छ ।
अमेरिकी सेयर बजारमा दर्ता भएको, नेपालीले खोलेको र लगानी गर्दा डलर फल्ने भन्दै प्रलोभन देखाएर लगानी जुटाउने प्रयास गरिरहेको सगुनमा लगानी नगर्न सरकारले यसअघि नै सर्वसाधरणलाई सचेत गराई सकेको छ ।
नेपाल धितोपत्र बोर्डले सगुनको आइपीओ गैरकानुनी भएको भन्दै लगानी नगर्न सचेत गराएको थियो । लगत्तै सगुनले विभिन्न अनलाइनहरु मार्फत विज्ञापनहरु बन्द गरेकोमा पुनः विज्ञापन गरेर लगानी जुटाउन सुरु गरेको छ ।
धितोपत्र बोर्डबाट अनुमति नपाएको सगुनलाई आइपीओ खुला भएको लगायतका विषयमा भ्रमित पार्ने गरी विज्ञापन तथा समाचार प्रकाशन तथा प्रकाशन नगर्न समेत धितोपत्र बोर्डले निर्देशन समेत दिएको थियो ।
विज्ञापनमा नेपाल, इरान र उत्तर कोरियाबाट लगानी गर्न नमिल्ने भनिए पनि नेपाली अनलाइनमा विज्ञापन हुँदै आएको छ । कतिपयले नेपाली बजारमा विज्ञापन गरेर हुण्डीमार्फत पैसा विदेशमा पठाएर लगानी उठाएकाे आरोप समेत लगाउने गरेका छन् ।
विदेशमा रहेको यस संस्थाले आइपीओको नाममा पटकपटक विभिन्न देशमा रहेका नेपाली नागरिकबाट पैसा असुल्दै आएको हाे । पछिल्लो पटक भने बोर्डले एक सुचना नै जारी गरेर गैरकानुनी भएको जनाईसकेको छ ।
धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरूले नेपालमा धितोपत्र निष्कासन गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गराउनुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र बिक्री खुला गर्न पाइन्छ । तर सगुनले भने आईपिओको नाम बेचेर पैसा असुल्दै आएको छ ।
सगुनको लगानी डुब्ने खतरा रहेको विज्ञहरुले पटक पटक सचेत गराउँदै आएका छन् । यस्ता, कम्पनी सयौं खुल्ने र बन्द हुने गरेको भन्दै लगानी गर्न पूर्व बुझेर मात्र निर्णय गर्न उनीहरुले आग्रह गरेका छन् ।
यता, सन् २०१७ देखि सुरु भएको सगुनले लगानी गर्न विभिन्न प्रलोभनजन्य प्याकेज देखाएर पटक पटक आह्वान गर्दै आएको छ । तर, तर वर्षौदेखि लगानी गर्नेहरुले डलर थाप्नु भन्दा पनि लगानी घुमाउने काम गरेको मात्र पाइएको छ ।
जानकारहरूका अनुसार सगुनले यसअघि उठाएको आईपिओबापतको रकम कर्मचारीको सेवा सुविधामा खर्च गरिसकेको छ । पछिल्लो समय आर्थिक अवस्थाकै कारण कम्पनी समस्यामा पर्न थालेपछि पुनः आईपिओ खुल्ला गरेर पैसा बटुल्न लागेको बताइन्छ ।
सगुनले पछिल्लो पटक नाम चलेका सबै नेपालका अनलाइनमा फेरि पनि विज्ञापन गरेर आफ्ना ग्राहक बढाउने र लगानी जुटाउने प्रयास गरेको छ । अहिले
फेरी कान्तिपुर, अनलाइनखबर, सेतोपाटी, रातोपाटी लगायत नाम चलेको सबै अनलाइनमा प्रचार गरिरहेको छ ।
विश्वभरी चर्चित रहेको, अमेरिकी सेयर बजारमा दर्ता भएको, भारतको एक पत्रिकाले ५० करोड लगानी गरेको भनेर समाचार लेखाउने सगुनले पटक–पटक किन नेपालीले खोलेको भनेर नेपालबाट नै लगानी जुटाउन खोजिरहेको छ त्यो पनि शंकाको विषय बनेको छ ।
‘सगुन’ बारे बोल्यो सरकार- ‘सगुनको आइपिओ गैरकानुनी हो, लगानी नगर्नु’