काठमाडौँ — उपत्यकामा मंगलबार साँझसम्म कोरोना भाइरसका ५ सय ६० नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले अपराह्न ४ बजे भने उपत्यकामा ४ सय ८१ संक्रमित थपिएको जनाएको थियो ।

‘मंगलबार अबेर साँझसम्म उपत्यकामा ५ सय ६० जना संक्रमित फेला परेका छन् । नयाँ संक्रमितमा ९० प्रतिशतभन्दा बढी स्थानीय छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने ।

उपत्यकामा निषेधाज्ञा जारी भएको दुई साता भए पनि यसको प्रभाव केही समयपछि मात्रै देखिने विज्ञहरूले बताएका छन् । उपत्यकामा अझै केही दिन देखिने संक्रमितको संख्याको विश्लेषणपछि मात्र जनस्वास्थ्यको दृष्टिले जनजीवन खुकुलो बनाउने विकल्पबारे सोच्न सकिने उनीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ९ सय १७, भक्तपुरमा ५ सय ४८ र ललितपुरमा ७ सय ४२ जना गरी उपत्यकामा ६ हजार २ सय ७ जनामा कोरोना संक्रमण भइसकेको छ । काठमाडौंमा २३, भक्तपुरमा ८ र ललितपुरमा ६ गरी उपत्यकामा ३७ जनाको संक्रमणले मृत्यु भइसकेको छ । केही दिनयता मुलुकमा दिनहुँ देखिने संक्रमितमा आधा जति काठमाडौं उपत्यकाकै हुने गरेका छन् । मंगलबार देशभरिमा ३ सय ४४ महिला र ७ सय २५ पुरुष गरेर १ हजार ६९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । ‘उपत्यकामा निषेधाज्ञा जारी भएको २ साता भए पनि संक्रमित देखिने क्रम बढी नै रहेको छ,’ ईडीसीडीका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘निषेधाज्ञा नगरेको भए संक्रमण देखिने दर अझ धेरै हुन्थ्यो ।’

डा. पाण्डेले साउन ६ गते लकडाउन खुलेसँगै मानिसको गतिविधि बढेकाले अहिले असर देखिएको बताए । उनका अनुसार साउन ६ गतेपछि उपत्यकामा भित्रभित्रै संक्रमण व्यापक विस्तार भइरहेको थियो । जनस्वास्थ्यको न्यूनतम मापदण्ड पूरा नगरी बाहिर निस्किने जमातले संक्रमण चारैतिर तीव्र गतिले फैलिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अवलोकन अध्ययनले काठमाडौंमा करिब ७० प्रतिशतले मास्क प्रयोग गरेको पाइएको थियो । त्यसमध्ये ७० प्रतिशतले मात्र राम्ररी मास्क लगाएका थिए । कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।