काठमाडौं । सरकार रमिते बनिदिँदा काठमाडौं उपत्यकाका आठ वटा निजी प्रयोगशालाले पिसिआर परीक्षणमा महंगो शुल्क लिएर लुटधन्दा जारी राखेका छन् । ती प्रयोगशालाले सरकारले तोकेको शुल्क भन्दा दोब्बर शुल्क उठाईरहँदा पनि सरकारले कारबाही गर्न सकेको छैन ।

सरकारले मूल्य घटाएको १३ दिन बितेको छ । १३ दिनमा साढे १७ हजार जनाको पीसीआरमा महंगो शुल्क लिँदै ती प्रयोगशालाहरुले सर्वसाधरणको ३ करोड ५२ लाख रुपैयाँ लुटिसकेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको थियो । निजी ल्याबहरूले ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका छन् ।

ललितपुरको स्टार अस्पताल, काठमाडौं कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, लाजिम्पाटको सुरिया हेल्थ केयर, धुम्बाराहीको ह्याम्स अस्पताल, ललितपुर ग्वार्कोको बीएन्डबी अस्पताल, नख्खुको नेपाल मेडिसिटी, डीकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर सिनामंगल, थापाथलीको इन्टरपिड डायग्नोस्टिक सेन्टरले बढी मूल्य लिएका हुन् ।

यसरी सरकारले तोकेको मूल्य भन्दा दोब्बर मूल्य बढी लिँदा पनि मन्त्रालय भने चुप लागेर बसेको छ । अहिलेसम्म मन्त्रालयले कारबाही समेत गर्न सकेको छैन । नेपाल कोरोना मैत्री नगरपालिका अस्पताल, केएमसी र बिध ल्याबले भने २ हजारमा नै कोरोना परीक्षण गरिरहेको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।