काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको वरीपरी नै कोरोना तिब्र रुपमा फैलिएको छ । उनको निजी चिकित्सक, सल्लाहकार, स्वकिय सचिवदेखि सुरक्षामा खटिने सुरक्षाकर्मीदेखि संक्रमित बनेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्रीका सुरक्षाको खटिने चार दर्जन बढी सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको छ । केही अझै पनि रिपोर्ट आउन बाँकी रहेको छ । यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरोना संक्रमण भएको थियो । त्यसपछि बालुवाटारमा कार्यरतहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर परीक्षण गराउँदा सल्लाहकार, स्वकीय सचिव तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना परीक्षणका लागि शुक्रबार स्वाब दिएका उनीहरूको शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि, प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्री संक्रमित कि असंक्रमित ?

आफ्ना सल्लाहकार, स्वकीय सचिव, निजी चिकित्सक तथा सुरक्षामा खटिने सल्लाहकार समेत संक्रमित भएपछि प्रधानमन्त्रीलाई कोरोना संक्रमण भए नभएकोबारे अहिले जनचासो बढेर गएको छ । यस विषयमा प्रधानमन्त्री र उनको सचिवालयले अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने शुक्रबार प्रधानमन्त्रीको कोरोना परीक्षणका लागि स्वाब नै नदिएको जानकारी दिए । ‘शुक्रबार प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको छैन ।’ उनले भने ।

शनिबार भने प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको जनाइएको छ । खबरहब अनलाइनले प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको भनेर समाचार लेखेकाे छ । समाचारमा कसैलाइ पनि उदृत भने गरिएकाे छैन । प्रधानमन्त्री र उनको सचिवालयले अहिलेसम्म यसबारे औपचारिक जानकारी दिएको छैन । प्रधानमन्त्री ओलीले आफ्ना निजी चिकित्सकदेखि सल्लाहकारसम्म संक्रमित हुँदा पनि आफ्नो भने परीक्षण नै गराएनन् वा गराएर पनि रिपोर्ट गोप्य राखियो भन्नेबारे भने खुल्न सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।