के एनसीसी बैंकको सेयर बढाउन चलखेल भएकै हो त ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) लिमिटेडको आइतबार सेयर मूल्य एकाएक आकासियो । त्यसरी मूल्य आकासिनुमा औपचारिक कारण कुनै पनि खुलेको छैन ।
तर, साताको पहिलो दिन एनसीसीको मूल्य आइतबार अस्वभाविक रुपले मूल्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले समेत आशंका व्यक्त गरेको छ । आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भयो भने बायर संख्या अत्याधिक बढेको थियो । यसलाई नेप्सेले अस्वभाविक भन्दै बैंकलाई स्पष्टिकरण सोधेको छ । यस अघिको कारोकारसम्म सामान्य रुपले नै अघि बढेको भए पनि आइतबार अस्वभाविक देखिएको नेप्सेले जनाएको छ ।
नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले बैंकलाई लेखेर ११ गते नेप्सेको कारोबार प्रणालीमा उच्च खरिद चाप देखिएकाले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भएमा सोको जानकारी ३ दिनभित्र उपलब्ध गराउन भनेका छन् । केही दिनदेखि एनसीसी बैंक नविल बैंकमा मर्ज हुने हल्ला चलेको थियो । तर यो विषय वास्तविकता नभएर सेयर मूल्य बढाउनका लागि गरिएको चलखेलको आशंका गरिएको छ ।