Wednesday, July 29, 2026
Home हेलाे विशेष मुख्यमन्त्रीका ज्वाईलाई भूमि आयोगको अध्यक्ष बनाएपछि खैलाबैला

मुख्यमन्त्रीका ज्वाईलाई भूमि आयोगको अध्यक्ष बनाएपछि खैलाबैला

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल ज्वाईं शिवकुमार आचार्यलाई भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा मनोनित गरेपछि खैलाबैला मच्चिएको छ ।
सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो त्यसमा दाङको अध्यक्षमा मुख्यमन्त्री ज्वाईंलाई बनाएपछि अहिले चर्चासँगै नेकपामा विवाद पनि सुरु भएको छ ।
ज्वाइँलाई जिल्ला आयोगको अध्यक्ष बनाएको भन्दै पोखरेलको आलोचना भइरहेको हो । पोरखेलमाथि नातावादको आरोप पनि लागेको छ । मुख्यमन्त्री पोखरेलकी पत्नि सुजिता शाक्य जनजाती कोटाबाट समानुपातिक सांसद छिन् । प्रधानमन्त्री केपी ओलीनिकट नेता पोखरेलले आफ्नै बहिनी मेनका पोखरेललाई विभाजित नेकपा ओली समुहको केन्द्रीय सदस्य बनाएका छन् भने दाई देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज पनि बनाएका थिए ।
तत्कालीन नेकपा एमाले दाङका अध्यक्ष हाल प्रचण्ड-माधव समुहमा रहेका जोगबहादुर रानाले मुख्यमन्त्री पोखरेलमाथि कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देख्यौ त ताक़त । आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाई उप-महानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष ! गणतन्त्र कस्लाई आएको रहेछ ?’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।