काठमाडौं । ‘आफ्नै फोटो यत्रतत्र टाँसेर आफैं मञ्चमा बसेर कसैले पनि भाषण गरेको त मैले देखेको थिइन ।’ नेकपा ओली समूहको आमसभामा बाहिर जिल्लाबाट आएका एक व्यक्ति शुक्रबार नारायणहिटी अगाडी उभिएर भन्दै थिए ।
आफैं प्रधानमन्त्री रहेका ओली र उनको समूहले ३ लाख मान्छे उतार्ने भन्दै शुक्रबार आमसभाको आयोजना गरेको थियो । अपेक्षा अनुसार मानिसहरु उपस्थित नभएको आमसभाको मञ्च लाखौं खर्च गरेर बनाइएको थियो । मञ्चको ब्यानरको दाइनो भागको सबैभन्दा माथि पिपि साइजको फोटो जत्रै पुष्पलाल, मदन भण्डारी, मनमोहनको सानो फोटो थियो । तर, मञ्च अगाडी ठूलो केपी ओलीको फोटो ठर्याइएको थियो ।
मञ्च अगाडी मात्र हैन, बिजुलीका पोल पोलमा ओलीको फोटो टाँसिएको थियो भने झण्डाहरुमा समेत ओलीको फोटो राखिएको थियो ।
राजनीतिज्ञहरुले यसरी आफ्नै फोटो टासेर आमसभा गर्नुलाई व्यक्तिवादको चरम उत्कर्षको रुपमा चित्रण गरेका छन् । उनीहरुले म भन्दा ठूलो कोही छैन भन्ने अहमता उक्त फोटोहरुको प्रदर्शनीले झल्किने बताउँछन् ।
‘हुन पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने र यो ठाउँसम्म ल्याउने पुष्पलाल, मदन र मनमोहनहरुलाई अपमानित ढंगले ब्यानरको सानो भागमा सिमित गर्नु र आफ्नो विशाल फोटो प्रदर्शन गर्नुले मपाईको भावना प्रष्टिनेमा दुई मत देखिदैन ।’ एक विश्लेषक बताउँछन् । कतिपयले यसलाई अजम्बरी व्यक्तिवादी दम्भको संज्ञा पनि दिएका छन् ।