काठमाडौं, १६ कात्तिक । नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६ः२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका हुन्।

बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए । अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको बताएका छन् ।
नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका छन् ।

उक्त जहाजमा तीन जना चालक दलका सदस्य र १४ जना यात्रुसहित १७ जना थिए । टेकअफ रिजेक्ट गर्दा यात्रुलाई केही पनि नभएको सीता एयरले जनाएको छ । नेपालगन्ज विमानस्थलका अनुसार, बँदेल ठोक्किएपछि ‘डिजेवल–एयरक्राफ्ट’ लाई क्रेनले तानेर पार्किङ क्षेत्रमा ल्याइएको थियो । जहाजलाई पार्किङ क्षेत्रमा ल्याउँदा र धावनमार्ग सफाई गर्दा दुई घन्टा नेपालगन्ज विमानस्थल बन्द गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।