काठमाडौँ । नेपाली कांग्रेस चितवनका नेताहरुले एक ठाउँ रहेको सन्देश दिँदै आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल जारी गरेका छन् । शनिवार एक अपिल प्रकाशन गर्दै केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले संयुक्त रुपमा अपिल गरेका हुन् ।
उनीहरुले चितवन क्षेत्र नम्बर २ को उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन आग्रह गर्दै कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकहरुलाई एकढिका बनेर लागि पर्न पनि आव्हान गरेका छन् ।
उनीहरुले कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको उल्लेख गर्दै मुलुकका गम्भीर समस्याहरुको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक रहेकोमा जोड दिएका छन् । देशको समग्र नेतृत्व नेपाली कांग्रेसको हुन आवश्यक रहेको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउनु देशको आवश्यकता रहेको उनीहरुको भनाई छ ।