काठमाडौं – पूर्ण बहादुर खड्का सरकारका उपप्रधान तथा रक्षामन्त्री हुन् । उनले अहिले चौतर्फी चर्चा र विवादमा रहेका हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई छुटाउन विशेष जोडबल गरेको बुझिन आएको छ ।
मन्त्रीपरिषद स्रोतका अनुसार सरकारले संविधान दिवसको अवसरमा पारेर सजाय मिनाहा गराउनेहरुमा रिगललाई पनि पार्न खड्काले विशेष दबाब दिएका थिए । उनकै दबाबमा सरकारले रिगललाई पनि सजाय मिनाहा गराउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले रिगलसहितका व्यक्तिहरुको सजाय मिनाहा गरेलगत्तै चौतर्फी विरोध भएको थियो । रिगलको सजाय मिनाहापछि सरकार र राष्ट्रपतिको समेत आलोचना भएको थियो ।
जानकारहरुका अनुसार खड्काले रिगललाई तरुण दलमा महत्वपूर्ण पदमा ल्याउन भूमिका खेल्ने गरेका थिए । हत्याकाण्डपछि पनि खड्काले रिगलमाथि सहयोग जारी राखेको पाइएको हो ।
श्रीमान् चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाहाविरुद्ध भारती शेर्पाले अनशन सुरु गरेकी थिइन् भने अनशनका क्रममा उनी बेहोस भएपछि अस्पताल भर्ना गर्नु परेको थियो ।
सर्वोच्च अदालतले सरकारको सजाय मिनाहा गर्ने निर्णय उल्टाईदिए लगत्तै रिगल पक्राउ परेका छन् ।
रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३÷३ वर्ष कैद सजाय भएको थियो।
खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।








