काठमाडौं । दर्जनौं व्यक्तिलाई विदेश पठाउने बहानामा पैसा उठाएर अलपत्र पारी ठगि गरेको आरोपमा कमलराज उपाध्याय पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो । उनी त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक हुन् ।

ब्यूरोले उनीमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको र सबैबाट गरेर १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी परेको जनाएको छ । सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

यसअघि नै पाँच जना पक्राउ

सिआईबीले यसअघि रोजगारीको आश्वसन दिएर भिजिट भिषाको नाममा लाखौं असुलेर दुबई पुर्याई ठगी गरेको आरोपमा उपाध्ययकै समूहमा रहेका पाँच जनालाई सर्लाही, रुपन्देही र काठमाण्डौं जिल्लाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा पक्राउ गरेको थियो । त्यतिबेलैदेखि उपाध्याय भने फरार रहेका थिए ।
पक्राउ पर्नेमा राईनास नगरपालिका–३, लम्जुङका ४७ वर्षिया मधुबिलास बास्कोटा, दुधकुण्ड नगरपालिका–८, सोलुखुम्बुका ५४ वर्षिया होम बहादुर खड्का, कागेश्वरी मनोहरा नगरपालिका–७ , काठमाडौंकी ३५ वर्षिया रंजना ढकाल प्याकुरेल, देवदह नगरपालिका–५, रुपन्देहीका ३० वर्षिया राजु भन्ने खुम बहादुर बस्याल कागेश्वरी मनोहरा नगरपालिका–७, काठमाडौंका ४० वर्षिया सन्तोष प्याकुरेल थिए ।
सिआईबीले उनीहरुले सेक्युरीटी गार्डमा ५०० जनाको भ्याकेन्न्सी भएको, मासिक तलब ३ हजार दिरामसम्म पाउने र बैदेशिक रोजगारमा लगाई दिने भन्दै प्रतिब्यक्ति तीन लाख ५० हजार देखि आठ लाख रुपैयाँसम्म उठाएको खुलेको जनाएको थियो ।
उक्त समय नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबई स्थित बिभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडित व्यक्तिहरु नेपाल फिर्ता भई ७६ जना पीडितहरुले प्रहरीमा दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैंया रकम ठगी भएको जनाएका थिए ।
नयाँ पत्रिकामा २०७९ असार ५ मा प्रकाशित समाचार अनुसार गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेकाे थियो । सिआइबीले ३८ जनाविरुद्ध दुई करोड ६३ लाख ५४ हजार ६ सय १० रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउन सिफारिस गरेको थियाे ।
३८ मध्ये गिरोहका नाइके कोमलराज उपाध्याय, भूपेन्द्र बोहरा र होमबहादुर खड्काविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेकोमा खड्कालाई प्रहरीले पक्राउ गरिसकेको थियो भने उपाध्यक्ष पनि पक्राउ परेका हुन् ।


पहिले पनि पक्राउ परेका थिए उपाध्यक्ष


मानव तस्करीको आरोपी उपाध्याय यसअघि पनि दुबईमै पक्राउ परेका थिए । उनले भिजिट भिसामा दुबई पुर्याएका एक नेपालीलाई अपहरण गरी दुबईमै बन्धक बनाएर कुटपिट गरेको खुलेपछि दुवई प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
नेपालबाट रोजगारीका लागि दुबई पुगेका अमन थापालाई क्याम्पबाटै अपहरण गरी कुटपिट गरेपछि उनी पक्राउ परेका थिए । आर्थिक दैनिकका अनुसार दुवई प्रहरीले पक्राउ गरेपछि उपाध्यायलाई हिरासतमा राखेको थियो । पछि उनी छुटेका थिए । सञ्चारमाध्यमलाई खबर दिएको भन्दै उपाध्याय समूहले निर्दोष युवालाई अपहरण गरेको बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।