काठमाडौं । सहकारीको रकम अपचलन गरी करोडौं ठगी मुद्दामा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पनि जोडिएका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी दिएका हुन् ।
महानगरपालिकाको जाहेरीका आधारमा यसअघि मुद्दा दर्ता भइसकेकाले यही विषयमा पूरक जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । लामिछाने, पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बास्तोला र १४ संस्थाविरुद्ध पूरक जाहेरी परेको हो । जीबी राई समूहले खोलेका सबैजसो सहकारीबाट गैरकानुनी रूपमा आफ्ना कम्पनी, साझेदार तथा विभिन्न संस्थाहरूमा ऋण प्रवाह गरी दुरुपयोग हुने गरेको पाइएको हो ।
ग्यालेक्सी टीभीका अध्यक्ष रहेका जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पीडित बचतकर्ताले गत साउनमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायरसमेत भइसकेको छ । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परेका छन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ ।