• विप्लव वैद्य भूलभूलैयामा परेर छुट्टाछुट्ट नबस्न आग्रह

काठमाडौं २७ जेठ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अवसरवादीको पर्याय भएको उल्लेख गरेका छन् । प्रचण्डले एमालेका रहेका इमान्दार नेता तथा कार्यकर्ता र लाई पनि माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह समेत गरे ।
प्रचण्डले मोहन वैद्य र नेक्र विक्रम चन्दलाई पार्टी एकताका लागि पनि आह्वान गरेका छन् ।
नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै दाहालले वैद्य र विप्लवलाई भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्न उचित नभएको समेत बताए ।
‘अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन । मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।’ आफ्नै निवास लाजिम्पाटमा आयोजित पार्टी कार्यक्रममा दाहालले भने ।
अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउँदै विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह समेत गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उनले अब कोही दुविधामा पर्न आवश्यक नरहेको समेत बताए । उनले भने ‘अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकि मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ ।’
देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उनले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गरे।
अध्यक्ष दाहालले मधेस, पहाड र हिमाललाई जुटाउने सन्दर्भमा पनि नयाँ आधार तयार भएको बताउँदै सहिद, घाइते, बेपत्ता तथा आमजनताको त्याग र बलिदान खेर नजाने अवस्थामा आइपुगेको बताए ।
अध्यक्ष दाहालले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने र त्यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिसहित मुलुकलाई नयाँ स्थानमा पु्र्याउने बताए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका तीन दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले रातो टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, प्रवक्ता पम्फा भुसाललगायतको सहभागिता थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।