काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले निगमकाे भवन निर्माणमा कानुन विपरित करिब ५० लाख हिनामिना गरेको खुलेको छ ।
नेपाल आयल निगमको बबरमहलस्थित कर्पोरेट अफिस निर्माणका क्रममा अगाडी नै मूल्यांकन भईसकेको अवस्थामा साजसज्जा लगायतको नाममा पुनः भेरिएशन गराएर करिब ५० लाख हिनामिना गरेको पाइएको हो ।
उक्त कर्पोरेट भवन निर्माणको ठेक्का डा. भट्ट नियुक्त हुनु अगाडी नै लागिसकेको थियो । भवन पूर्ण सुसज्जित (Full Furnished Building Tender) अन्तर्गत टेण्डर गरिए पनि व्यक्तिगत लाभको मनसाय राखेर पहिल्यै टेण्डरमा नै भएको वस्तुलाई फेरि थप गरे जस्तै गराएर पुनः भेरिएशन गरेर ठूलो रकम हिनामिना भएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५३ मा कामको आधारभूत प्रकृति वा क्षेत्र परिवर्तन नहुने गरी दुवै पक्षको लिखित सहमतिबाट खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक खरिद सम्झौतामा संशोधन गर्न सकिने उल्लेख छ । यसैलाई कानुनी आधार बनाएर भवन निर्माण भित्र आर्थिक चलखेल भएको पाइन्छ । हेलोखबरले खरिद सम्झौता र भेरिएनको कागजात माग गर्दा निगम व्यवस्थापनले दिएको छैन ।
भवन निर्माण भित्रको ठूलो रकम दुरुपयोगका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको स्रोतको दाबी छ । अख्तियारले यस विषयमा अनुसन्धान गरिरहेको पाइएको छ ।
भट्टले उक्त अनुसन्धान तामेलीमा राख्न पनि शक्ति केन्द्र धाउनेदेखि लिएर ठूलो आर्थिक चलखेल समेत गर्दै आएको बताइन्छ ।
भट्टलाई कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नियुक्त गरेको चर्चा चल्ने गरेको थियो । उनले ठूलो धनराशी खर्च गरेर नियुक्त भएको भनेर कांग्रेसभित्रै चर्चा चल्ने गरेको छ । उनी २०८० साल फागुनमा आयल निगम प्रवेश गरेका थिए । उनी कार्यकारी प्रमुखमा नियुक्त हुँदा उद्योग मन्त्री कांग्रेसका रमेश रिजाल रहेका थिए ।
१० वर्षअघि पनि निगमको नेतृत्वमा रहेका उनलाई तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ माघमा हटाएका थिए । उनी त्यतिबेला ६ महिना मात्र आयल निगममा बसेका थिए ।
निगमका सुचना अधिकारी सुदन प्रसाद ढुंगानाले परियोजनाका कार्यहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा निगमको आर्थिक प्रशासन तथा खरिद सम्बन्धी विनियमावली, २०६४ (दोस्रो) संशोधनसहित) मा उल्लेखित व्यवस्था अनुसार सम्पन्न भएको दाबी गरेका छन् ।








