काठमाडौं २ फागुन
पार्टी एकताका लागि पटक पटक गोप्य छलफल गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच मंसिरमा निर्वाचन सम्पन्नपछि वान टु वान वार्ता श्रृंखलाले आधा दर्जन नाघेको छ ।

दुवै नेता पार्टी एकतालाई टुंगोमा पुर्याउनुपर्ने पक्षमा देखिएका छन् । तर, एकता संयोजन समितिको बैठकमा बाहेक यी दुईको छलफलमा आफ्नै विश्वासपात्रले समेत इन्ट्री पाउन सकेका छैनन् ।
पछिल्लो समय हिजो मंगलबार र सोमबार पनि दुई नेताबिच लामै छलफल भयो । उक्त छलफलमा पार्टी नेतृत्व तथा सरकार सञ्चालन र सैद्धान्तिक तथा वैचारिक विषयमा मोटामोटी सहमति भएको बताइए पनि दुई नेताले बाहिर ल्याएका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने जनय्द्ध दिवसको कार्यक्रममा मंगलबार नै सहमति जुटाउने गरी छलफल भईरहेको बताएका थिए । सोही साँझ पुनः गोप्य वार्ता बसे भने आज एकता संयोजन समितिको बैठक बोलाइएको छ । समितिको बैठकमा पनि दुई नेताले आफूहरुबिच भएको छलफलबारे खुलेरै राख्ने गरेका छैनन् ।

किन एक्लाएक्लै बस्छन् ओली–प्रचण्ड
निर्वाचन अगाडी प्रचण्डले ओलीलाई भावी प्रधानमन्त्री भनेर सार्वजनिक रुपमा नै भाषण गरेका थिए भने एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने भनेर ओली र प्रचण्ड दुवैले बताउँदै आएका थिए ।

निर्वाचनपछि भने एमाले नेताहरुले सहजै प्रचण्डलाई अध्यक्ष मान्न तयार देखिएनन् । एमाले महासचिव इश्वर पोखरेलले त सार्वजनिक रुपमा नै एउटै व्यक्तिले पार्टी र सरकारको नेतृत्व गर्नुपर्ने अभिव्यक्ति दिए । एमालेभित्र एकताका विषयमा विभिन्न टिका टिप्पणी हुन थालेपछि एमालेले एकताको विरुद्ध नबोल्न क्रियाकलाप नगर्न निर्देशन नै दियो ।
बैठकमा विश्वासपात्र लगायत अन्य नेतालाई राख्दा कुरो बिग्रने डरले विश्वास पात्रले इन्ट्री नपाएको बताइन्छ । एक नेता भन्छन्, ‘शिर्ष तहमै सहमतिको खाका तय गर्दा राम्रो हुन्छ भन्ने हाम्रो पनि धारणा हो ।’

त्यसो त दुई अध्यक्षबिच नै पद बाँडफाँडमा कुरा नमिलेकाले दुई जनामै नमिलेको विषयमा अन्य नेता पनि सहभागी भए झनै बिग्रने भनेर पनि दुईको वान टु वान वार्तामा अन्य नेताले चान्स नपाएको पनि बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।