काठमाडौं २४ साउन । सरकारले गैर आवासीय नेपाली नागरिक (एनआरएन) लाई नेपाली नागरिकता दिन कानुनी प्रक्रिया अघि बढाएको छ । सरकारले एनआएएनलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नेपाली नागरिकता दिने भएको छ । एनआरएनलाई राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्रयोग गर्न मिल्ने गरी ‘गैर आवासीय नेपाली नागरिकता’ प्रदान गर्न सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर कानुन निर्माण प्रक्रिया अघि बढाएको हो ।

सरकारले संघीय संसद सचिवालयमा बुधबार दर्ता गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ‘गैर आवासीय नेपाली नागरिकता’ गृह मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रदान गर्ने व्यवस्था गरिएको छ ।

ऐनको दफा ७ मा (क) थप गरेर एनआरएनलाइ्र्र नागरिकता दिने प्रावधान थप भएको हो । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त सक्नेछ ।’ संशोधित विधेयकमा छ ।

एनआएनले नागरिकता प्राप्त गर्न साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण तथा निवेदक तथा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण समेत मन्त्रालयमा पेश गरेर मन्त्रालयमा निवेदन पेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।

यसअघि, एनआरएनले गैर नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए । सरकारले कानुन संशोधन गरेर उनीहरुलाई नागरिकता दिन प्रक्रिया थालेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।