सुनको भाउ ८० हजार पुग्ला त ?

काठमाडौं । सुन व्यवसायीहरुले सुनको भाउ नेपाली रुपैयाँ ८० हजारसम्म पुग्ने विश्लेषण गर्न थालेका छन् । चीन र अमेरिकाबीच बढ्दो व्यापार युद्धले सुनको भाउ आकासिन पुगेको हो भने इरान र इयू तथा भारत पाकिस्तानबीचको तनाब पनि यसको कारण थपिन आउँछ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्न साथ त्यसको असर नेपाली बजारमा पर्ने गर्दछ ।

त्यसो त नेपाली बजारमा सुनको भाउ बुधबार पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो । बुधबार छापावाल सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यता, तेजाबी सुनको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले नै बढेर बुधबार ७३ हजार २०० रुपैयाँ पुगेको छ ।

यसअघि गत भदौ ९ गते पनि सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा नै पुगेको थियो । यस्तै, चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँ पुगेको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । आम उपभोक्ताले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारीले खरिद नगरेको गुनासो गरिरहेका छन् । सुनचाँदी गहना पसल सुनसान छन् । व्यापारीहरुले ग्राहकका पुराना गहना किन्न मानिरहेका छैनन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।