यातायातमन्त्रीलाई क्वार्टरमा १, जनकपुरमा १, अहिले चढ्ने अर्कै सरकारी गाडी

काठमाडौं । विकास र समृद्धिको मुख्य नारा बोकेको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग सरकारी आधा दर्जन भन्दा गाडी छन् । ती सरकारी गाडी श्रीमती र नातेदारबाट दुरुपयोग हुँदै आएको छ । मन्त्रीले हालै मात्र बिलासी गाडी झिकाएका छन् भने क्वार्टर र गृहजिल्ला जनकपुरका लागि छुट्टाछुट्टै गाडी स्ट्याण्डबाई अवस्थामा राखेका छन् ।

मन्त्री महासेठ र उनको परिवारको कब्जामा मात्र करोड बढी मूल्यका हाल ५ वटा सरकारी गाडी छन् भने सचिवालयमा ३ वटा छन् ।
बा२झ १०७० नम्बरको मित्सुबिसी पजेरो मन्त्री पत्नीले प्रयोग गर्ने गरेकी छिन् । मन्त्रालय स्रोतका अनुसार करोड बढी मूल्यको सो गाडी मन्त्री महासेठले सडक विभागलाई दबाब दिएर झिकाएका हुन् ।

सडक विभागमार्फत नै झिकाएको बा२झ २२१५ नम्बरको फोर्ड इन्भेटर भने प्रदेश नम्बर हालेर प्राइभेट बनाई पारिवारका सदस्यबाट दुरुपयोग भइरहेको स्रोत बताउँछ ।
मन्त्री नियुक्त भएपछि गृह मन्त्रालयले उपलब्ध गराएको बा२झ १०८९ नम्बरको कार भने मन्त्रीले क्वार्टरमा थन्काएका छन् । उनले सरकारी सुविधा लिने गरेपनि हाल केही महिना अघि मात्रै सडक विभागलाई दबाब दिएर किन्न लगाएको बा२झ ४८६२ नम्बरको बिलासी टोयटा ल्यान्डकुजर चढ्दै आएका छन् । त्यसको मूल्य नेपाली बजारमा २ करोड बढी पर्ने बताइएको छ । गत ११ भदौमा बानेश्वरमा यही गाडी जथाभावी रुपमा सडकपेटीमा पार्किङ गरेर राखेपछि ट्राफिक प्रहरीले ह्विललक गरेको थियो । चालकलाई जरिवाना तिराएर गाडी छुटेको थियो ।

देशकै सडक र पूर्वाधार सम्बन्धी मेरुदण्ड मानिने मन्त्रालय सम्हालेका मन्त्री महासेठले घर जाँदा चढ्ने गाडी पनि छुट्टै झिकाएर गृहजिल्ला पुर्याएका छन् । स्रोतका अनुसार जनकपुरमा उनले बा २ झ ४०२९ नम्बरको टोयटा फर्चुनर राखेका छन् । त्यो गाडी पनि नातेदार तथा परिवारका सदस्यबाट दुरुपयोग हुने गरेको छ ।
मन्त्रीले आफ्नो सचिवालयमा पनि छुट्टै ३ वटा सवारी झिकाएका छन् । उनको सचिवालयले बा२ झ ११०१ र बा२ झ १३९८ नम्बरको कार प्रयोग गर्दै आएको छ । सचिवालयका लागि बा२ झ ३४४५ नम्बरको पिक अप पनि प्रयोग हुँदै आएको छ । यान्त्रिक महाशाखाले भने सचिवालयका लागि २ वटा सवारी उपलब्ध गराइएको बतायो । स्रोतः राजधानी दैनिक


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।