काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न कुनै एक व्यक्तिलाई मात्र आकर्षित हुने कार्यविधि बनाएर लिमिटेड सञ्चालक समितिबाटै नीतिगत बदमासी भएको हो । हालै संशोधित केयूकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्तसम्बन्धी कार्यविधिमा हाल कायम मुकायमका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई मात्र मान्य हुने मापदण्ड तय गरिएको छ ।
तत्कालीन महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईको कार्यावधि १९ भदौ २०७६ मा सकिएपछि रिक्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । ९० दिनका लागि नियुक्ति पाएका उनले पुनः कानुनी आधारमा थप ९० दिनको भूमिकामा छन् । तर, उनै शाक्यलाई मात्र मान्य हुने गरी चलखेलका आधारमा कार्यविधि तय भएको पाइएको हो ।
संशोधित कार्यविधिको बुँदा नम्बर ८ मा पूर्णांक १५० तोकिएको छ । जसमा शैक्षिक योग्यता अनुभव मात्र ७० तोकिएको छ । त्यस्तै, कार्यपत्र लेखन ४०, कार्यपत्र प्रस्तुतीकरण २० र अन्तर्वार्ता २० गरेर १५० पु¥याइएको छ । कार्यविधि २०७१ मा अंकभार क्रमशः ५०, ५०, ३० र २० तोकिएको थियो । अहिले एउटा व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि परिमार्जन गरिएको हो ।
शैक्षिक योग्यता र अनुभवबापतको ७० अंकमा प्रथम, द्वितीय र तृतीय श्रेणीको क्रमशः २०, १८ र १५ अंक थप सम्बन्धित विषयको ४ र विद्यावारिधिको ६ अंक दिइएको छ । शाक्यले तत्कालीन सोभियत संघबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए भने पछि कार्यालयकै खर्चमा ईएमबीए गरेका थिए । उनको योग्यतालाई सहयोग पुग्ने गरी मापदण्ड तय गरिएको छ ।
यस्तै, ३० कार्य दिनको व्यवस्थापनसम्बन्धी तालिमको ५ अंक तोकिएको छ । शाक्यले स्टाफ कलेजबाट ३० दिनको व्यवस्थापनसम्बन्धी तालिम लिएको पाइएको छ । उनलाई आकर्षित हुने गरी यो व्यवस्था थप गरिएको हो । कार्य अनुभवबापत अधिकृत स्तरमा १० वर्षको अनुभवको १५, १० भन्दा माथि बढी प्रत्येक २ अंकका दरले १० अंक र विशेष अनुभव भएका भनी ९ तहबाट वा सोसरह काम गरेको प्रत्येक वर्षको २ अंकका दरले १० अंक विभाजन गरिएको छ । उक्त व्यवस्था हालकै प्रमुख कार्यकारी प्रमुखलाई विशेष ध्यान दिएर निर्माण गरिएको पाइएको हो ।
चलखेलको आशंका
लिमिटेडको कार्यकारी छनोटका लागि नीतिगत तहमा नै बदमासी गरेर आफू अनुकूल नेतृत्व ल्याउन हालका कार्यकारी अधिकृतदेखि मन्त्रालयका सहसचिव तथा सम्बन्धित मन्त्रालयको नेतृत्वसम्मको चलखेलको आशंका लिमिटेड सरोकारवालाले गरेका छन् । लिमिटेड सञ्चालक समितिको अध्यक्षमा मन्त्रालयका सहसचिव रमाकान्त दवाडी छन् । छनोट समिति संयोजकत्वमा मन्त्रालयका अर्का सहसचिव रितेश शाक्य छन् ।
लिमिटेडमा स्वार्थपूर्ण निर्णय
महाप्रबन्धकको रित्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले कामुका रूपमा जिम्मेवारी पाएपछि उनको क्रियाकलाप स्वार्थपूर्ण र निर्णयसँग बाझिने खालको देखिएका छन् । खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत चयन गर्न विज्ञापन आह्वान गरिए पनि मापदण्ड र प्रक्रिया आन्तरिक बढुवाभन्दा फरक रहेको पाइएको छैन । यसमा मन्त्रालयको नेतृत्व चुप लागेर बसेको पाइएको छ । आफैं प्रमुख कार्यकारी अधिकृतको पदमा रहनु र आफू अनुकूल हुने गरी त्यहीँ पदका लागि कार्यविधि निर्माण भएको पाइएको छ । १ सय ८० दिनको अवधिमा हालको प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका शाक्यको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै लिमिटेडमा उनको आलोचना हुने गरेको छ । लिमिटेडको कार्यकारी अधिकृतका लागि परेको कार्यपत्र विज्ञलाई पठाउने गरिन्छ, आफैं कार्यकारी अधिकृतको पदमा रहेका शाक्यले आफू अनुकूलका विज्ञलाई पठाउन सक्ने देखिएकाले त्यसमा स्वार्थ बाझिने सम्भावना देखिएको लिमिटेडका अधिकारी बताउँछन् । -राजधानी दैनिकबाट







