काठमाडौं । नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाकाली सन्धीको स्मरण गराएका छन् । नेता रावलले देउवाले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गरेको समेत उल्लेख गरे ।

रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाजविपरीत हुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले एमसीसी अहिलेकै सम्झौता अनुसार भए राष्ट्रहित विपरित हुने समेत जनाए ।

‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । आज महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो ।’ रावलले देउवाप्रति केन्द्रित हुँदै भने ।
आइतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सभापति देउवाले एमसीसीलाई सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखाएको आरोप लगाएका थिए । उनले चालु अधिवेशनबाट एमसीसी पारित गराउन पनि माग गरेका थिए ।

नेता रावलले संसदमा राखेको भनाई यस्तो छः
हाम्रो देशमा निकै विवादास्पाद मिलेनियम च्यालेन्ज कर्पोरेसनको कुरा जुन उल्लेख गरिएको छ । यो अलि पछाडिको ढोकाबाट आउन खोजे जस्तो मलाई अनुभूत भएको छ ।

एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । आज महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो ।

त्यसैले यो मिलेनियम च्यालेन्ज कर्पोरेसन यहाँ परेको छ । म आशा गर्नु यो पक्कै पनि त्यो सम्झौता अन्तर्गतको हुने छैन । यदि त्यो भयो भने राष्ट्र हित विपरीत हुनेछ । त्यो नेपाली जनताले उठाउँदै आएको आवाजको विपरीत हुनेछ । एउटा स्वाधिन स्वतन्त्र देशको हैसियतमा आँच पुर्याउने कुनैपनि सम्झौता कुनैपनि पैसामा साट्न सकिँदैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।