सुन तस्करी र अवैध कारोबारमा जोडियो प्राइम र बैंक अफ काठमाण्डूको नाम, ३ अर्ब बढी अनियमितता

खोज पत्रकारिता केन्द्र
अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) का अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८ बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पुर्‍याएको भेटिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भन्दै फिनसेनले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता ट्रेडिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) शंकास्पद कारोबार गरेका हुन् ।

सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ । सो रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूको सास्ताको खातामा रकम जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । तर दुई बैंकमा कति कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन ।

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीबाट बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ अमेरिकी डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ । बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो ।

फिनसेनले राखेको विवरण अनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ । नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ ।

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो । सन् २०१२ मा कालोटीले सुन खरीद गर्नका लागि ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । सो ‘लिक्स’ अनुसार, बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो ।

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको ‘फिनसेन फाइल्स’ ले खुलासा गरेको हो । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् ।

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष हुन् । उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने । त्यसपछि पटक पटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन् ।

उल्लिखित कारोबार बारे प्राइम बैंकका सूचना अधिकारी अमृत चरण श्रेष्ठले आफूहरूले राष्ट्र बैंकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए । “सास्ता कम्पनी हाम्रो बैंकको पुरानो ग्राहक हो । कम्पनीले हाम्रो बैंकबाट चाँदी आयातको एलसी प्रतितपत्र मात्रै खोल्छ । उसले अरू धेरै बैंकबाट पनि कारोबार गर्छ । शंकास्पद भए अन्ततिर होला” श्रेष्ठले भने, “हामीले राष्ट्र बैंकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन ।” सास्ता संलग्न अर्को बैंक– बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले त धेरै कुरै गर्न चाहेनन् । उनले भने, “यसबारे मलाई केही जानकारी छैन । केही भयो भने म तपाईंलाई पछि कल गर्छु ।” यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।