घर-घरमा लक्ष्मीको पूजा–आराधना

काठमाडौँ — आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपूजा । घर घरमा लक्ष्मीको पूजा आराधना गरिएको छ । कार्तिक कृष्ण औँसीमा पर्ने यो पर्व साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी मनाइँदै छ । सफासुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यतासाथ बिहानै घर सरसफाइ गरी लक्ष्मीलाई आमन्त्रण गरिएको छ ।

आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गर्ने चलन छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।