कोरोना विरुद्धको खोप लगाएका पत्रकारहरु २४ घण्टापछि धमाधम बिरामी

काठमाडौं । भारतले निःशुल्क उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाएका नेपाली पत्रकारहरुमा समस्या देखिन थालेको छ । कोरोना विरुद्धको खोप लगाएको २४ घण्टापछि ज्यान दुख्ने, ज्वरो आउने समस्या देखिन थालेको अधिकांश पत्रकारहरुले जनाएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञान प्रसाद पौडेलले खोपको असर २४ घण्टापछि देखिन थालेको भन्दै ज्वरो आएको जनाएका छन् । ‘एन्टी कोरोना खोपको असर २४ घण्टा पछि देखिन थाल्यो, ज्यान दुख्ने र ज्वरोले ढाल्ने भो १ साथीहरूलाई कस्तो छ ?’ उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

नयाँ पत्रिकाका बरिष्ठ समाचारदाता तथा प्रेस संगठन नेपाल उपत्यका प्रदेशका इन्चार्ज सुरोजंग पाण्डेले पनि आफूलाई रातीदेखि त्यस्तै समस्या देखिएको जनाएका छन् ।
सञ्चारकर्मी श्याम तण्डुकार, एमपी पोखरेल, भविन्द्र कार्कीले आफूलाई पनि साइट इफेक्ट देखिएको बताएका छन् । नयाँपेजका पत्रकार रविन राईले रातभरी ज्वरो आएको र अहिले भने ज्वरो कम भएपनि शरीरमा आलस्यता र कमजोर अनुभव भइरहेको जनाएका छन् । पत्रकार कमला हमालले पनि कोभिड विरुद्धको खोप लगाएपनि बिसञ्चो भएको जनाएकी छिन् ।

भारत सरकारले १० लाख डोज खोप निःशुल्क उपलब्ध गराएको थियो । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई लगाएपछि दोस्रो चरणमा पत्रकारहरुलाई लगाउन थालेको हो । अधिकांश पत्रकार तथा चिकित्सकहरुले कोरोना खोप नलगाएको पाइएको छ ।

किन बोल्दैनन् खोपको असरबारे ठूला मिडिया

सरकारले कोरोना विरुद्धको खोप अभियान सुरु गर्ने क्रममा चलेका अनलाइन तथा मूलधारका मिडियामा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको फोटोसहितको सूचना सन्देश प्रकाशन/प्रसारण भएको थियो । अनलाइनमा खोपबारे जिज्ञासा भए यहाँ क्लिक गर्नुहोस् भनेर सन्देश प्रकाशित गरिएको थियो । ती सन्देशहरु प्रकाशन प्रसारण गरेबापत ठूला भनिएका मिडियाहरुले राम्रो रकम बुझेका छन् । विज्ञापन अर्थात सूचना सन्देशबापत राम्रो रकम बुझेकै कारण ठूला मिडियाले खोपको असरबारे समाचार प्रकाशन प्रसारण नगर्ने गरेको मिडिया जगतमा चर्चा हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।