विप्लव र प्रकाण्डकाविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा

विराटनगर । सरकारद्धारा प्रतिबन्धित नेकपाका महासचिव नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर भएको छ ।
मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि उनीहरुविरुद्ध मुद्धा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए ।
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा सोमबार दर्ता भएको हो ।