काठमाडौं । पूर्वकृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतले सेटिङमा निर्वाचनको पक्षमा फैसला आए मुलुकमा रक्तपात मच्चिने चेतावनी दिएका छन् ।
‘प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए मुलुकमा रक्तपात मच्चिन्छ । विघटनकै पक्षमा फैसला भए पनि वैशाखमा निर्वाचन हुने अवस्था छैन’ उनले भने, ‘गलत फैसला भए मुलुकमा नीतिनियम विधिविधान सबै समाप्त भएर देश भासिने र हामी सबै समाप्त हुने अवस्था आउने छ । त्यसैले सर्वोच्च अदालत, न्यायाधीशले मुलुकको सर्वोत्तम हितमा निर्यण गर्ने विश्वासमा छु ।’
नेता भुसालले जनमत संविधान विपरित फैसला भए पनि आगामी असार भित्र ओलीलाई सडकमा ल्याउने चेतावनी दिए । प्रधानमन्त्री ओलीलाई लंकाको रावणसँग तुलना गर्दै नेता भुसालले दश टाउके रावणले अन्तिममा लंका नै ध्वस्त बनाएर आफू पनि सिद्धिएको दृष्टान्त सुनाउँदै भुसालले त्यसैगरी ओलीले पार्टी र देशलाई ध्वस्त बनाउँदै सिद्धिने अवस्थामा पुगेको बताए ।
नेकपा लुम्बीनी प्रदेश ईन्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र वैचारिक मन्थन नभएकै कारण केपी ओली जस्ता तानाशाहको उदय भएको बताए । पाल्पा जिल्लाका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले अब पनि पार्टीलाई नीति सिद्धान्त, वैचारिक परीक्षण बिना नेता मुखी पार्टी भए भोलि पार्टीको अर्को तानाशाही ओलीवाद आउने चेतावनी दिए । नाम मात्र कम्युनिस्ट, काम सामन्तवादीको रुपमा परिणत भएको नेकपा अब केपी ओलीकै कारण सच्चिने मौका पाएको बताए ।