काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन् ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।