यतिबेला नेपाली बजार फेरि एक पटक भारतको रहस्यमय कुचालाले तरंगित बन्न पुगेको छ ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी मेहताले रात्रिभोजको आयोजना गरेर जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी–बेहरी ल्याउनुपर्ने भन्दै मधेस केन्द्रित नेताहरुलाई आग्रह गरेपछि भारतको कुचालबारे देश नै तरंगित बनेको हो ।

सो भेटमा मेहताले शिर्ष दलहरुबीच नाम र सिमापछि तय गर्ने गरी ११ प्रदेशको संघीय राज्य बनाउने निर्णयको विषयलाई लिएर मधेसलाई टुक्रा गर्दा आफ्नो कलेजोलाई टुक्रा गरेजस्तो अनुभूति भएको भन्दै मधेस केन्द्रित नेताहरुलाई आन्दोलनमा उत्रन उक्साएका थिए ।
कांग्रेस, एमालेका मधेस केन्द्रित नेताहरुलाई समेत बोलाइएको सो रात्रिभोजमा उनले तपाईहरु अघि आउनुहोस हामी सहयोग गर्न तयार छौँ समेत भनेका थिए ।
यसरी, एउटा देशको कर्मचारीले अर्को देशको भूमिमै देशमा द्वन्द्व फैलाउने, बिखण्डन हुने गरी र  टुंगोमा पुग्नै लागेको संविधान निर्माण कार्य पनि लथालिंग पार्ने तरिकाले अभिव्यक्ति मात्रै होइन आग्रह र निर्देशन नै दिएपछि त्यसको चौतर्फी विरोध भएको छ ।
ठाउँ ठाउँमा मेहतालाई नेपालबाट निकाला गर्न माग गर्दै पुत्ला समेत जलाइएको छ ।
शिर्ष तीन राजनीतिक दल जो अहिले आफैँ सरकारमा सहभागी छन् । उनीहरुले मेहतालाई स्वदेश फिर्ता गर्न पहल गर्न सरकारसँग माग समेत गरेका छन् ।
यता, आकस्मिक बसेको एमाले केन्द्रिय समितिले बैठकले पनि उनलाई फिर्ता पठाउन सरकारसँग माग गरेको छ ।
यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय राजदूत जयन्त प्रसादसँग मेहताबारे स्पष्ट पार्न माग गरिसकेका छन् ।
विभिन्न विद्यार्थी संघ संगठनहरुले उनको सो चालाको कडा विरोध गर्दै आन्दोलन थालिसकेका छन् ।

यसरी, संविधान जारी हुने मुखैमा आएर भारतीय पक्षले यसो भन्नु र गर्नुमा भने ठूलो प्रश्न उठेको छ । त्यति मात्रै होइन यो खबर जहीँतहीँ पुगैसँगै विरोधले चर्को रुप लिन थालेसँगै भारतीय पक्षले भने सञ्चारमाध्यममा आएका खबरहरु भ्रामक एवम् गलत भएको भन्दै आन्दोलनका लागि राजनीतिक दलहरुलाई उक्साएको भनी आएका खबरहरु ठिक नभएको भनेर प्रतिक्रिया जनाएको छ ।

काठमाडौँमा भारतीय राजदूत जयन्त प्रसाद सरकार बनाउने र लडाउने खेलमा मात्रै होइन संविधानसभा भवन भित्रै पसेर ताजोपाजो मिलाए जस्तो गर्ने अनि यता महावाणिज्य दूतावासका अर्का कर्मचारी भने मधेस केन्द्रित नेताहरुलाई आगो बाल्न उक्साउनुले भारत नेपालको विकास र परिवर्तन देख्न नसक्ने देश त होइन भन्ने प्रश्न उब्जाएको छ ।

यसो गर्नाले नेपाल कहिल्यै उन्नतिको बाटोमा पुग्न सक्दैन, सक्दैन तर यसले भारतलाई पनि क्षति पुर्याउँछ भन्ने कुरो चाँही भारतले पनि बुझ्न आवश्यक छ ।

कान्तिपुर दैनिकमा जुन समाचार छापिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।